१४ बैशाख २०८१, शुक्रबार 1714132522
Banner

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको सूचना

पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो । पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको बताइएको छ । धर्मशालाले नक्सा पास विना नै संरचना निर्माण गरेको समेत पाएकाले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ ।

बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैध रुपमा निर्माण गरिएका संरचना, सम्झौता विपरितका व्यवसाय र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोही अनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।