१३ बैशाख २०८१, बिहीबार 1714093043
Banner

प्रेस चौतारीको नवौँ महाधिवेशनः अध्यक्ष र महासचिवमा को-को छन् दाबेदार ?

काठमाडौं – नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दशौं महाधिवेशनको संघारमा प्रमुख पद अध्यक्ष र महासचिवमा आधा दर्जन पत्रकार आकांक्षी देखिएका छन् । 

प्रमुख आकांक्षीहरूले पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्बाङ, विष्णु पौडेल र महासचिव शंकर पोखरेलको समर्थन जुटाउने कोसिस गरिरहेका छन् । चौतारीको महाधिवेशन २७ र २८ फागुनमा पोखरामा सम्पन्न हुँदैछ ।

अध्यक्षमा वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे, महिला उपाध्यक्ष टीका विष्ट र महासचिव राजेश राई प्रमुख दाबेदार छन् । चौतारीका एक पदाधिकारीका अनुसार पाण्डेले आफूलाई बालकोटबाट ‘ग्रिन सिग्नल’ आइसकेको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीलाई महासचिवको टिममा राखेर प्रचार गरिरहेका छन् । पाण्डे वरिष्ठ उपाध्यक्ष पोखरेल निकट मानिन्छन् । 

तर, अध्यक्ष गणेश बस्नेत भने अध्यक्षका दाबेदारहरूबीच सहमति नजुटे सर्वसम्मतिमा आफैं दोहोरिने मनस्थितिमा छन् । सहमति नभएमा भने उनले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष माधव नेपाललाई समर्थन गरेर अगाडि सार्ने तयारी गरिररहेका छन् । एमाले अध्यक्ष ओलीले दोहोरिने ‘ग्रिन सिग्नल’ दिएमा उपाध्यक्षको संख्या कम्तीमा पाँचजनासम्म बढाएर पदाधिकारीमा रहेका केहीलाई समेट्ने उनको योजना छ । 

नेपाललाई पूर्वअध्यक्ष राजेन्द्र अर्यालको भित्री समर्थन छ भने उपाध्यक्ष पाण्डेप्रति पूर्वअध्यक्ष गगन विष्टको सहनाभूति छ । तर, चुनाव भएमा भने विष्ट पाण्डे र नेपालको पक्षमा नलागी तटस्थ बस्न सक्ने बताइएको छ । 

पूर्वमहासचिव प्रमोद दाहाल पनि अहिलेसम्म कतै खुलेका छैनन् । यद्यपि, महासचिव राजेश राईप्रति सहानुभूति भए पनि पार्टीमा तत्कालीन माधव नेपाल समूह छाडेर पार्टीमै रहेका १० नेताहरू निकटका रूपमा नाम जोडिएका कारण उनलाई अध्यक्ष ओलीको समर्थन गर्ने सम्भावना न्यून छ । सोही कारण दाहाल अहिलेसम्म कतै खुलेका छैनन् । राईलाई अन्तिमसम्म दुई उपाध्यक्ष या तीन उपाध्यक्षभित्र समेटेर ‘सिनियर’ उपाध्यक्ष बनाउने विकल्पमा पनि चर्चा चलिरहेको बताइन्छ । तर, राईले भने त्यस्तो अवस्थामा आफू संगठनमा नबस्ने बरु प्रचार विभागमा रहेर काम गर्ने इच्छा प्रकट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । 

उता, दोस्रो शक्तिशाली पद मानिने महासचिवमा शुरोजंग पाण्डे, हीरामान लामा र चेतन अधिकारीको चर्चा धेरै छ । कोषाध्यक्ष इन्द्र आचार्यले पनि अध्यक्ष बस्नेतको समर्थनमा महासचिव बन्ने प्रयास गरिरहेका छन् । प्रेस चौतारीबाट समाजवादी प्रेस संगठनतिर दुई सचिव खुलेपछि पाण्डेको महासचिवमा चर्चा चलेको हो । यद्यपि, उनीभन्दा वरीयतामा उपमहासचिवका रूपमा माथि रहेका काभ्रेका लामाले पनि अध्यक्ष बस्नेतको समर्थन जुटाउने प्रयास गरेका छन् । तर, एउटै गृहजिल्ला दोलखाको भएकाले जिल्लाको राजनीतिका कारण पनि अध्यक्ष बस्नेतले आफू अध्यक्षमा नदोहोरिने अवस्थामा सचिव पाण्डेलाई नै महासचिवमा समर्थन गर्ने प्रबल सम्भावना रहेको चर्चा छ । 

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको टिममा प्रेस सल्लाहकार विष्णु रिजालको मातहत प्रेस संयोजकको जिम्मेवारीमा रहेका पाण्डेलाई महासचिवमा सम्भव नभए उपाध्यक्षमा व्यवस्थापन गर्ने मनस्थिति रिजालले बनाएको एक पदाधिकारीले बताए । 

महासचिवको दौडमै रहेका चेतन अधिकारीलाई अध्यक्ष ओलीले सल्लाह गरौंला भनेका कारण विश्वासका साथ उनी मैदानमा उत्रिएका छन् । तर, अहिले चौतारीको केन्द्रीय सदस्य मात्र रहेकाले सर्वसहमति गर्दा क्रमबद्ध नेतृत्वको विषयमा प्रश्न उठ्ने भएकाले उनलाई कसरी व्यवस्थापन गर्ने विषयमा पार्टीकै कतिपय नेताहरूले पनि विमर्श गरिरहेको बताइन्छ । अधिकारी पार्टी प्रचार विभागको सदस्य तथा राजनीतिक नियुक्ति लिएर राष्ट्रिय विज्ञापन बोर्डमा सदस्यसमेत छन् । 

महासचिवमा बढी प्रतिस्पर्धा रहेकाले अन्तिममा प्रेस चौतारीमा काम गरेको अनुभव, पार्टी सदस्यतालगायतका मापदण्ड हेरेर आकांक्षीमध्ये एक÷दुईजनालाई अन्तिममा उपाध्यक्षमा व्यवस्थापन गर्ने चर्चा पनि चलिरहेको छ । पाण्डे, लामा र अधिकारी दुई कार्यकाल केन्द्रीय कमिटीमा छन् । पाण्डे र लामा पदाधिकारीसमेत हुन् । महाधिवेशनमा सहभागिताका हिसाबले पाण्डे सिनियर मानिन्छन् भने लामामा पार्टीमा समेत काम गरेको अनुभव छ । उता, अधिकारी विगतमा कान्तिपुर राष्ट्रिय दैनिकमा जिल्ला रिपोर्टर थिए भने पाण्डे हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।

उपाध्यक्षकै लागि मोफसलबाट लालबाबु शेख र सविन प्रियासनको पनि चर्चा चलेको छ । कर्णाली प्रदेशका उपाध्यक्ष वीरबहादुर गिरी र प्रदेश १ का उपाध्यक्ष लीलाराज भट्टराई बिदा हुने मनस्थितिमा छन् । शेख मधेस प्रदेश र प्रियासन लुम्बिनी प्रदेशबाट अहिले पनि उपाध्यक्ष नै छन् । बागमती प्रदेशका उपाध्यक्ष विश्वमणि सुवेदी र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद एकीकृत समाजवादीतिर लागेका छन् । गण्डकी प्रदेशका उपाध्यक्ष पाण्डे अध्यक्षका दाबेदार छन् । सचिव देविका घर्तीमगरले महिला उपाध्यक्षमा दाबी गरेकी छिन् ।

उपमहासचिव र सचिवमा भरत केसी, प्रकाश सिलवाल, रामेश्वर कार्की, विक्रम लुइँटेल, सुष्मा पौडेल, मोहन बास्तोला, शालिग्राम नेपाल, शिशिर सिंखडा, लोगसरी कुँवर, रामकृष्ण शर्मा, हेमराज सिलवाल, देवेन्द्र कार्कीलगायतले दाबी गरेका छन् । उनीहरूमध्ये प्रकाश सिलवाल, बास्तोला र रामेश्वर कार्कीको जोड उपमहासचिवमै रहेको बताइन्छ । तर, सर्वसम्मति हुँदा उपमहासचिव र सचिवमा चर्चामा रहेकैमध्येबाट सचिव पदमा व्यवस्थापन गर्ने बताइएको छ । त्यस्तै, दश सचिवका लागि सबै प्रदेशबाट कम्तीमा एक-एकजना अन्य दाबेदार रहेको स्रोतले बताएको छ । 

आकांक्षीहरूको संख्या बढे पनि उपमहासचिव तथा इन्चार्ज पृथ्बीसुब्बा गुरुङ र प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अध्यक्षमा ‘ग्रिन सिग्नल’ लिएर अन्य पदाधिकारीमा मिलाउने गृहकार्य सुरु गरिरहेका छन् । मोर्चा संगठनले एकैपटक केन्द्रीय कमिटीको आकार, पदाधिकारीको संख्या र पदाधिकारीभित्र पनि उपाध्यक्षको संख्या एकैपटक दुई तिहाइभन्दा बढी घटाइदिएकाले पनि व्यक्तिको आकांक्षालाई ध्यान दिँदै सन्तुलन मिलाएर पदाधिकारीको संख्या घटबढ गर्नेगरी सर्वसम्मतिको प्रयासमा प्रारम्भिक गृहकार्य भइरहेको बुझिएको छ । गुरुङ र रिजालले अध्यक्ष ओलीलाई दुई दिनअघि पोखरास्थित रूपाकोट रिसोर्टमा चौतारीको महाधिवेशन तयारी, अध्यक्षका आकांक्षी र सर्वसम्मतिको विकल्पबारे लामो ब्रिफिङ गरेका छन् ।