७ बैशाख २०८१, शुक्रबार 1713557781
Banner

विजेता नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २ लाख दिने

काठमाडौं । सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको थियो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो । त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज युएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले युएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमणको शुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएईसँग खेल्नेछ ।