१३ बैशाख २०८१, बिहीबार 1714041701
Banner

प्रसाईंसँग लिङ्देनको आक्रोस, ‘८ अर्ब ठग्नेले राजतन्त्र ल्याइदिन्छु रे’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजासँग नजिकिएका चर्चित व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आक्रोशितरुपमा प्रस्तुत भएका छन् । आफ्ना नेता–कार्यकर्तासमेत प्रसाईंको लहैलहैमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

हालै इलाममा आयोजित एउटा कार्यक्रममा लिङ्देनले व्यवसायी प्रसाईलाई ‘ठग’को संज्ञा दिए । पाँच अर्बभन्दा बढी ऋण लिएर ब्याज र किस्ता नतिर्ने ‘बैंक ठग’का पछि नलाग्न उनले उनले कार्यकर्तालाई आग्रह गरे ।

लिङदेनले भने, ‘पाँच अर्बभन्दा बेसी ऋण लिएर, व्याज नतिरेर, किस्ता नतिरेर अहिले ८ अर्ब पुग्न आँटेको छ । त्यो मान्छेले अब बैंकको व्याज नतिर्ने र ऋण नतिर्ने भन्दा ताली बजाउने ? अनि उसैले राजा ल्याइदिन्छ भनेर कुद्छन् ल, यस्तो पनि कार्यकर्ता, यस्तो पनि नेता भइन्छ ? यसरी पनि पार्टी चल्छ ? यसरी अघि बढिन्छ ? यति सामान्य कुरा त बुझ्नुपरो हाम्रो नेता कार्यकर्ताहरुले ।’

उनले थपे, ‘हाम्रो अध्यक्ष किन आएन, हाम्रो राप्रपाले किन समर्थन गरेन भन्छन् उल्टै । बैंक ठगलाई म समर्थन गरेर हिँडु ? राप्रपाले समर्थन गरेर हिँडोस् ? बैंकको पैसा बैंकको होइन, तपाईं–हामीले बचत गरेको पैसा हो । जनताको पैसा हो । बैंक डुब्दा तपाईं–हामी बचतकर्ता डुब्ने हो । बैंकबाट पैसा लिएर चोरबाटोबाट विदेश लैजाने, अनि यहाँ बैंकले लिएको ऋण नतिर्ने भन्दा साँच्चै तिर्न नपर्ने हो कि, साह्रै राम्रो कुरा हो भनेर कुदिहाल्ने ?’