८ बैशाख २०८१, शनिबार 1713653990
Banner

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाको पहल, आज देउवासँग भेट गर्दै

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन राजनीतिक प्रयास अघि बढाएको छ।

लोसपाका शीर्ष नेताहरूको मंगलबार बसेको बैठकले साझा व्यक्तिका रूपमा पार्टी अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने निर्णय गर्दै छलफल थाल्ने निर्णय गरेको थियो।

बैठकको निर्णयपछि मंगलबार नै अध्यक्ष ठाकुरसहितका नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गरेका थिए। अध्यक्ष ठाकुरको साथमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लासहितका नेताहरू प्रधानमन्त्री दाहाललाई भेट्न पुगेका थिए।

उनीहरूले प्रधानमन्त्रीलाई भेटेर ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेका छन्। लोसपा नेता अनिल झाले आफूहरूले प्रधानमन्त्रीलाई भेटेर साझा व्यक्तिका रूपमा अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेको जानकारी दिए।

“कांग्रेसले दिएको उम्मेदवार एमालेले स्वीकार गरिरहेको छैन। एमालेले दिएको कांग्रेसले स्वीकार गरिरहेको छैन। यो परिस्थितिमा गणतन्त्र, संघीयताप्रति शुरूदेखि नै पूर्ण समर्पित रहेको र १२ बुँदेमा पनि भूमिका खेलेको व्यक्ति ठाकुर हुनुहुन्छ भनेर भन्यौँ”, उनले भने, “तपाईंले राष्ट्रिय सहमतिका लागि खोजी रहेको पात्र उहाँ नै हो, त्यसैले सहयोग गर्नुस् भनेर आग्रह गरेका हौँ।”

आफूहरूको प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको झाको भनाइ छ। प्रधानमन्त्रीसँग भेटवार्ता गरेको लोसपाका नेताहरूले ठाकुरलाई राष्ट्रपति बनाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने भएको छ ।
झाका अनुसार आज विहान ९ बजे कांग्रेस सभापति देउवालाई भेटेर ठाकुरको पक्षमा सहमतिका लागि प्रयास गर्न बताए ।

उनले राष्ट्रिय सहमतिका लागि उपयुक्त पात्र ठाकुर नै भएको भन्दै अन्य दलहरू यसमा सहमति जुटाउन आग्रह गरिने बताए ।