७ बैशाख २०८१, शुक्रबार 1713560631
Banner

गण्डक नहरमा बेपत्ता भएकी महिला र दुई नाबालकको शव भेटियो

परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २, हरकपुरस्थित गण्डक नहरमा डुबेर तीनजनाको मृत्यु भएको छ।

स्थानीय तीर्थराम थारुकी २९ वर्षीया पत्नी प्रतिमा थारु आफ्ना ९ वर्षीय क्रिस र ७ वर्षीय छोरा सुमितसहित मंगलबार दिउँसो नहरमा हाम फालेकी थिइन्। नहरमा बेपत्ता आमा-छोराको खोजी गर्ने क्रममा हाम फालेको स्थानभन्दा सय मिटर पश्चिममा तीन आमा-छोराको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार कुर्था-सुरुवालको सलले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको छ। बच्चासहित हाम फालेकी महिलाको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक जानकारी आएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।