२१ बैशाख २०८१, शुक्रबार 1714765811
राजनीति

भूमिहीनको पीडा : महानगरले बस्तीमा डोजर आतंक फैल्याएर पीडा दियो

काठमाडौं । भूमिहीनहरुले काठमाडौं महानगरपालिकाले आफूहरूलाई थप पीडा दिएको गुनासो गरेका छन् । विश्व सामाजिक न्याय दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरूको बस्तीमा डोजर आतंक फैल्याएर काठमाडौं महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले आफूहरूमाथि अन्याय नगर्न पनि काठमाडौं महानगरपालिका र संघीय सरकारलाई आग्रह गरिन् । गरिवको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उनको दुखेसो थियो । पोखरेलले भनिन्, ‘गरिवीको भोगाई छ । भोकको पीडा छुट्टै छ । महामारी, सरकारको दिएको यातना । यी सबैको पीडा हामीले भोग्नु परेको छ । हामीमाथि नै काठमाठौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि डोजर चलाएर आतंकित पारेका छन् । उनी आएपछि त झन हामीले पीडा भोग्नु परेको छ ।’

यता, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरुको समस्या समाधानका लागि आफूहरू सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढ्न लागि परेको दाबी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए । विकास आयुक्त प्याकुरेलले काठमाडौं उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरूको माग सम्बोधन गराउने काममा आफूहरूले काम काम गरिरहेको पनि बताए । विकास आयुक्त प्याकुरेलले भने, ‘यो सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न र व्यवस्थित गर्नका लागि सरोकारवाला सबैको भूमिका अपरिहार्य हुन्छ । र, यसमा काठमाडौं उपत्यका विकास प्राधिकरण हातमा हात मिलाएर अघि बढन चाहन्छ ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताए।