७ बैशाख २०८१, शुक्रबार 1713549304
Banner

जानकारी गराएरै हाम्रा खेलाडीले सन्दिपसँग हात नमिलाएका हुन् : क्रिकेट संघ स्कटल्याण्ड

काठमाडौं । स्कटल्याण्डका खेलाडीहरुले पूर्व जानकारी दिएरै नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात नमिलाएको खुलेको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार भएको खेलपछि स्कटल्याण्डका खेलाडीहरुले लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका थिए । स्कटिस खेलाडी तथा अफिसियलहरुले लामिछाने बाहेक अरु खेलाडीसँग हात मिलाएका थिए। लामिछानेतिर चाहिँ हेर्दै हेरेनन्, सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए ।

स्कटल्याण्ड क्रिकेटका सञ्चार प्रमुख चार्ल्स पिटरसनले खेल सुरु हुनुअगावै नेपाल क्रिकेट एसोसिएसन र लामिछानेलाई यसबारे जानकारी गराइएको बताए ।

शुक्रबारको घटनाबारे खेल हुनुभन्दा केही दिनअघि नै नेपाल क्रिकेट संघ (क्यान) र सन्दीप दुवैलाई टिम स्कटल्याण्डको तर्फबाट यसबारे जानकारी गराइएको उनले बताए ।

राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौ २०७८ मा एक किशोरीले प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन् । केन्यामा टी–२० सिरिज खेल्न जानुअघि भएको घटनाबारे अनुसन्धान सुरु भएपछि लामिछाने एक महिना सम्पर्कविहीन भएका थिए ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा नोटिस जारी भएपछि उनी नेपाल फर्किएका थिए । प्रारम्भिक सुनुवाइबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई उच्च अदालत पाटनले कडा शर्तहरुसहित २८ पुसमा रिहा गर्न आदेश दिएको थियो । तर, अदालतबाट मुद्दा छिनोफानो नभइ लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको भन्दै विरोध भएको थियो ।

‘स्कटल्याण्डले पनि त्यसकै विरोध गरेको हो । स्टकल्याण्ड क्रिकेटका सञ्चार प्रमुख पिटरसन भन्छन्, ‘स्कटल्याण्ड क्रिकेट सबै प्रकारको दुर्व्यवहारविरुद्ध कडा रुपमा उभिन्छ, आधुनिक समाजमा यस्ता खाले दुर्व्यवहारको कुनै ठाउँ छैन ।’ सन्दीपसँग हात नमिलाउने निर्णयमा टिमका सबै सदस्य र कर्मचारीको सर्वसम्मति रहेको पनि उनले बताए ।

‘सन्दीपसँग प्रतिस्पर्धामा सहभागी हुने तर, हात चाहिँ नमिलाउने अमिल्दो भएन र ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यो पूर्णतः तपाईंको व्यक्तिगत विचार हो ।’ पिटरसनले सन्दीपलाई टिममा राख्ने विषय चाहिँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र नेपाल क्रिकेट संघ (क्यान)को मामिला भएको बताए ।