७ बैशाख २०८१, शुक्रबार 1713559785
प्रदेश

लोकसेवा आयोग योग्य जनशक्तिको जननी : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लोकसेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताउनुभएको छ । कर्णाली प्रदेश लोकसेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै प्रदेश प्रमुख परियारले आयोग योग्य, क्षमतावान् र कर्मठ कर्मचारी जन्म दिने भएकाले यसको क्षमता विकास गर्नुपर्ने सुझाव दिनुभयो । संविधानले दिएको अधिकार र सङ्घीयताको भावनाअनुरुप समावेशिताका आधारमा निजामती क्षेत्रमा चाहना भएका उम्मेदवारहरूले आयोगलाई ठूलो विश्वास गरेको उहाँले जनाउनुभयो ।

आयोगले छोटो समयमै धेरै उल्लेखनीय काम गरेर सेवा प्रवाह चुस्त र कामलाई सहज बनाउन विशेष योगदान पु¥याएको भन्दै प्रदेश प्रमुखले आयोगप्रति कृतज्ञता प्रकट गर्नुभयो । दिवसमा मुख्यमन्त्री राजकुमार शर्माले नेपालमा प्रशासनिक सङ्घीयता कार्यान्वयन हुन नसकेको टिप्पणी गर्दै यसमा प्रभावकारिता आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा प्रणाली एकातिर, कार्यसम्पादन अर्कोतिर भएकाले सक्षम कर्मचारीले मात्र सही दिशा दिन सक्छन् ।” कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार गर्ने काम भइरहेको बताउनुभयो । “आयोगले प्रशासनिकभन्दा प्राविधिक कर्मचारी पूर्ति गर्नुपर्ने छ । सरकारले त्यसका लागि आवश्यक माग गर्छ”, उहाँले भन्नुभयो । उहाँले कर्मचारीको सेवा सुविधा थप गर्नुपर्नेमा समेत जोड दिनुभयो । बीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रदेश निजामती सेवा ऐन नबनेकाले स्थानीय तहमा कर्मचारी अभाव भएको बताउनुभयो । कतै कर्मचारी धेरै भए भने कतै कर्मचारी अभाव हुने गरी बनेको खाडल पूर्ति गर्न जतिसक्यो छिटो निजामती ऐन ल्याउन प्रदेश सरकारलाई सुझाउनुभयो । आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले विभिन्न अन्योलताका बीचबाट काम गर्न थाले पनि आयोगले छोटो समयमै सफल कार्यसम्पादन गरेको बताउनुभयो । उहाँले दुई वर्षमा विभिन्न पदमा डेढ लाख आवदेनमध्ये आठ सय ६० जना योग्य उम्मेदवारलाई छनोट गरी स्थायी नियुक्ति गर्न सिफारिस गरिएको उहाँको भनाइ थियो ।

पछिल्लो समय निजामती आकर्षण बढ्दै जाँदा आयोगलाई जिम्मेवारी र चुनौती दुवै थपिएको अध्यक्ष उपाध्यायले बताउनुभयो । प्रदेश लोकसेवा आयोगका सचिव नारायणप्रसाद भट्टराईले दुई वर्षमा पाँचौँ तहमा चार सय ७६ जना र चौथो तहमा तीन सय ८४ जना नियुक्त भएको जानकारी दिनुभयो । आयोगको सक्रियताले रिक्त दरबन्दी पूर्ति भइ सेवा तथा विकास निर्माण सञ्चालनमा सहयोग पुगेको उहाँको भनाइ थियो ।