६ बैशाख २०८१, बिहीबार 1713455807
विश्व

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार बताउनुभएको हो । टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराउनुभएको छ । उहाँले तेह्र बर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गर्नुभएको छ ।

उहाँको हताय प्रान्तको अन्ताक्यास्थित अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ । उद्धारकर्मीले बिहीबार नै अन्ताक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताउनुभयो । एघारौँँ दिनमा उद्धार गरिएका २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ । “म ठीक छु, मलाई कुनै समस्या छैन,” कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई कल गर्ने क्रममा अब्सीले भन्नुभयो । अव्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोध्नुभएको थियो ।

भिडियोमा उहाँले ‘मेरी आमा र अरूलाई कस्तो छ?’ भनी सोधेपछि कसैले ‘तिनीहरू सबै ठीक छन्, तिनीहरू तपाईंको प्रतिक्षामा छन्’ भनिएको देख्न सकिन्छ । प्रतिक्रियापछि अब्सीको अनुहारमा राहतको छोटो मुस्कान देखिएको छ । भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा बढी को मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् भने लाखौं मानिस चिसो तापक्रममा आश्रयविहीन भएका छन् । भूकम्पको धक्का टर्कीका ११ प्रान्तमा महशुस गरिएको थियो । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् । एजेन्सी