१५ बैशाख २०८१, शनिबार 1714211554
राजनीति

बयान फेर्नेविरुद्ध मुद्दा चलाउँदै अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने ३ जनाविरुद्ध मुद्दा चलाएको छ। सरकारी साक्षीका रुपमा पेश गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार सिन्धुपाल्चोकस्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरुलाई साक्षीका रुपमा अदालतमा पेश गरिएको थियो। तर, इन्जिनियर भोगेन्द्र प्रसाद साहसमेतको मुद्दामा घुसवापतको रकम दिएको भनिएका बद्री समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यले बयान फेरेका थिए ।

विशेष अदालत समक्ष वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जिवीविरुद्ध २९ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ। यस्तै रत्न प्रसाद आचार्यले ८५,००० घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिएको भन्दै सोही बराबरको बिगो मागदाबी गरेर शुक्रबार मुद्दा दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।