२०७९ आश्विन १९ बुधबार 1665014037
फिचर

हात्तीको हेरचाह र गस्तीमा खटिने अमृता भन्छिन्- वन्यजन्तुको संरक्षणमा महिला कम छैनन्

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षण तथा चोरी निकासी नियन्त्रणका लागि नियमित गस्ती गर्ने गरिन्छ ।

निकुञ्ज प्रशासनले नेपाली सेनाको सहकार्यमा साइकल, हात्ती, जीप र डुंगामार्फत् गस्ती गर्छ । यो कार्यमा पछिल्लो समय महिला सहभागिता पनि बढ्दै गएको छ ।

कसरा हात्तीसारमा माहुतेको रुपमा हात्तीको हेरचाह गर्दै आएकी अमृता महतो वन्यजन्तुको संरक्षण होस् या गणना नियमित रुपमा गस्तीमा जाने गर्छिन् । मेघौली घर भएकी उनले हात्ती चराउने, हात्तीको गोठ सरसफाइ गर्ने, दाना खुवाउने र गस्ती गर्ने काम गर्न थालेको पाँच वर्ष भयो ।

कसरा हात्ती सारमा ६ वटा हात्ती छन् । एउटा हात्तीको हेरचाहमा तीन जना हात्तीसारे खटाइन्छ । सुरुमा उनले हात्ती प्रजनन केन्द्र खोरसोरमा काम गर्थिन् । ‘खोरसोरमा हात्तीको तालिम लिएर हात्तीको कमाण्डर भएर सौराहा गएँ । खोरसोरमा ६ महिना बसेँ । सौराहामा एक वर्षजति बसे’, उनले भनिन् ।

सौराहामा पनि हात्तीलाई सिकाउने, हात्तीको गोठालो जाने, घाँस काटेर ल्याउने र हात्तीको स्याहारसुसार गर्ने गरेको उनले बताइन् । पछिल्लो पटक उनले कसरामा गर्न थालेको चार महिनाजति भयो । उनी भन्छिन्, ‘हात्ती चराउन लैजाँदा जंगली हात्ती धुव्रे, रोनाल्डो भेटिन्छ । बाघ र गैंडा पनि भेटिन्छ ।’

जंगली हिंस्रक हात्ती पालुवा हात्तीको नजिक आएपछि आफुले हात्तीलाई तर्काएर हिँडाल्नुपर्ने उनी बताउँछिन् । ‘जंगली हात्ती नजिकै आएको देखेपछि आफ्नो हात्ती भगाउनुपर्छ । जंगलभित्र ज्यान जोखिममा राखेर काम गर्नुपर्छ । महिलाले गर्नै नसकिने भन्ने चाँहि होइन’, उनले भनिन् । हात्तीसारे चौविसै घण्टा ड्युटिमा खटिनुपर्छ ।

परिवारमा श्रीमान, दुई छोरी, एक छोरा र सासु छन् । श्रीमानले गाउँघरतिरै सवारी चालकको काम गर्छन् । श्रीमानसँगको सहमतिमा नै आफूले हात्ती हेरचाहको काम गरिरहेको उनी बताउँछिन् । चाडपर्व र विशेष काम परेको बेला घर जाने गरेको उनले बताइन् ।

तालिम लिएर काम सिकेपछि हात्तीको हेरचाह गर्न कुनै कठिनाई नहुने उनी बताउँछिन् । उनले बिहान हात्तीको गोठ सफा गर्छिन् । त्यसपछि हात्ती लिएर उनी घाँस काट्न जान्छिन् । घर आएपछि हात्तीसारे मिलेर घरआगन सफा गर्ने र खाना पकाउने गर्छन् ।

कहिलेकाँही दिनभरी र रातभर पनि हात्ती गस्तीमा हिँड्नुपर्ने उनी बताउँछिन् । एक पटक गस्ती गर्दा पाँच देखि १२ वटासम्म हात्ती प्रयोग हुन्छन् । सिउ गस्तीमा जाँदा धेरै हात्ती लगिन्छ ।

चोरी सिकारी नियन्त्रण र जंगलमा मरेका वन्यजन्तुको अनुगमन गर्दा सिउ गस्ती गरिन्छ । आवश्यकताका आधारमा निकुञ्जको सबै क्षेत्रमा गस्ती जानुपर्ने उनले बताइन् ।

उनी गैंडा गणना गर्दा पनि गस्तिमा खटिएकी थिइन् । त्यतिबेला २२ दिनसम्म हात्ती लिएर गस्तिमा गएको उनले बताइन् । गैंडा गणनामा खटिएका ३० वटा हात्ती सम्मिलित एउटा समूहमा उनी एक्लो महिला माहुते थिइन् ।

तीन वर्षअघि कसरा हात्तीसारमै काम गर्दा देवीकली र तमोरकली हात्तीको गोठालो जाँदा धुव्रे हात्तीसँग जम्काभेट भएको उनले सम्झिइन् ।

‘घडगाई पोष्टमा धुव्रेसँग जम्काभेट हुँदा हामी ज्यान बचाउन हात्तीबाटै हामफालेर पोष्ट भित्र छिरेका थियौँ’, उनले भनिन्, ‘धुव्रे दौडिएर हामी चढेकै हात्तीतिर आइरहेको थियो । हात्तीमाथि नै बसिराख्दा हाम्रो ज्यान जोखिममा पर्छ भन्ने भएपछि हामी हामफालेर पोष्टमा गएर ज्यान बचायौँ ।’

धुव्रे हिंस्रक जंगली हात्ती हो । यसले अहिलेसम्म नेपाल र भारतका गरी १६ मान्छेको ज्यान लिइसकेको छ । एकचोटी हात्तीलाई घाँस काट्न जाँदा जंगली हात्ती रोनाल्डोले लखेटेको पनि उनले बताइन् ।

‘अस्ती भर्खरै गस्तीमा जाँदा नजिकै दुई वटा चितुवा भेट्यौँ । गस्तिमा जाँदा बाघ, हात्ती, गैंडा त भेटिरन्छन् । अब त सामान्य जस्तो भइसक्यो’, उनले भनिन् ।

हात्तेसारे पालैपालो गस्तिमा जाने गर्छन् । महिनावारी हुँदा महिलालाई गस्तीमा जान गाह्रो हुने उनले बताइन् । ‘महिनावारी हुँदा दुई-तीन दिन महिलालाई गाह्रो हुन्छ । ब्लिडिङ भइरहेको हुन्छ । त्यतिबेला चाँहि हामीले रेष्ट गर्न पाउछौँ’, उनले भनिन् ।

गौरी गाईको गणना हुँदा पनि उनी गस्तीमा गएकी थिइन् । त्यतिबेला तीन दिन गस्तीमा गएको उनले बताइन् । पाँच वर्षमा प्रेरणाकली, देवीकली, तमोरकली, लक्ष्मीकली र अम्बेकली गरी पाँच वटा हात्ती चलाएको उनी बताउँछिन् ।

‘अरुले चलाएको हात्ती मैले चलाउन सक्दिन र मैले चलाइरहेको हात्ती अरुले चलाउन सक्दैन’, उनले भनिन् । जंगली हात्ती देखेपछि घरपालुवा हात्तीले आवाज दिएर संकेत दिन्छ । क्षमताको विकास गर्न सके महिलाले पनि हात्ती चलाउन सक्ने उनले बताइन् ।

पछिल्लो १० वर्ष देखि मात्रै महिलालाई पनि हात्ती सारेमा राख्ने गरिएको हो । हात्ती सारेको लागि महिलालाई छुट्टै कोटाको व्यवस्था गरिएको छ । तर महिलाई कम सिटको व्यवस्था गरिएको उनी बताउँछिन् ।

‘एक पटकमा तीन जना महिलाको लागि मात्रै भनेर सिट छुट्याइन्छ । पुरुषहरु भने १५ देखि २० जनासम्म पनि हुन्छन्’, उनले भनिन् ।

धादिङ त्रिपुरासुन्दरीकी पार्वती थापा पनि वन्यजन्तुको संरक्षणको लागि निकुञ्जभित्र नियमितजसो गस्तिमा जाने गर्छिन् ।

गैंडाको खाग चोरी निकासीमा संलग्नलाई पक्रेर ल्याउँदा रातभर खोलाको किनारमा बस्नुपरेको उनको नराम्रो किस्सा छ । चार महिनाअघि माडी घाँघरका एक जना प्रतिवादी लिएर फर्किने क्रममा खोला बढेर रातभर खोलामा बास बसेको उनले सुनाइन् ।

‘दुई जना प्रतिवादीलाई लिन गएका थियौँ । एक जना भागिहाल्यो । एक जनालाई चाँहि समात्यौँ’, उनी भन्छिन्, ‘राति ११ बजेतिर गएका थियौँ । पानी ठूलो परेको थियो । जाँदा त जसोतसो खोला त¥यौँ । फर्किदा चाँहि तर्न सकेनौँ । हामीसँग चोर पनि संगै थिए । रातभर खोलामै बसेर बिहान ४ बजेतिर बल्ल आयौँ ।’

निकुञ्जको हेडक्वार्टर कसरामा बसेर गेम स्काउटको रुपमा काम गरिरहेकी उनी निकुञ्जको सबैजसो स्थानमा गस्ती गएकी छन् । डुंगा, साइकल र जीपमा गस्तिमा जाने गरेको उनले बताइन् । त्यस्तै राप्तीमा राति राति माछा मार्ने मान्छेलाई पक्राउ गर्न जाँदा गैंडासँग जम्काभेट भएको उनले स्मरण गर्छिन् ।

‘हामी आर्मी र प्रशासनको टिम भएर डुंगामा जाँदै थियौँ । हामीले त गैंडा नै देखेका थिएनौँ । बच्चासँगको गैंडा रहेछ । आर्मीको डुंगामा ठोक्किएर बच्चा चाँहि जंगलतिर गयो । माउ पनि बच्चाकै पछि लाग्यो । बच्चा हामितिर आएको भए के हुन्थ्यो थाहा छैन’, उनले भनिन् ।

वन्यजन्तु संरक्षण गतिविधिमा महिला सहभागीता बढ्दो क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेशप्रसाद तिवारी बताउँछन् । वन्यजन्तु संरक्षणका लागि लोकसेवा आयोगले नै निश्चित कोटाको व्यवस्था गरिदिएको उनले बताए ।

‘लोकसेवाको कोटासँगै खुला रुपमा आउने महिलाको संख्या पनि बढ्दो छ’, उनी भन्छन्, ‘महिला स्काउटमा हुनुहुन्छ । रेन्जरमा हुनुहुन्छ । महिला अफिसर पनि हुनुहुन्छ । पछिल्लो समयमा संरक्षणमा चाँहि महिलाको सहभागीता र सक्रियता बढ्दो क्रममा छ भन्न सकिने अवस्था छ ।’

चितवन निकुञ्जमा हाल कार्यरत तीन सय कर्मचारीमध्ये २६ महिला छन् ।