१३ बैशाख २०८१, बिहीबार 1714054662
समाचार

सांसद भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजाने तयारी

काठमाडौँ । ग्यास विस्फोटबाट घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ। चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको जनाइएको छ ।

कीर्तिपुर अस्पतालका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान चिकित्सकहरुले सिफारिस गरेका हुन्। भण्डारीलाई श्री एयरलाइन्सको चार्टड विमानबाट मुम्बई लैजाने तयारी भइरहेको छ। बिहीबार बिहान स्वास्थ्यमन्त्री पदम गिरीले भण्डारीलाई भेटेर सरकारले उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए ।

‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवैजनाको श्वासनलीमा ताताहावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका हुन् । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।