१२ बैशाख २०८१, बुधबार 1713978284
समाचार

हिरासत फोडेर भागेका २ जना थुनुवा अझै बेपत्ता

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् ।

पुस १५ गते राति हिरासत फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये योजनाकारसहित चारजनालाई प्रहरीले एक साताभित्रै पक्राउ गर्न सफल भएको थियो ।

तर, दुई सात्ता बित्दासमेत हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका ६ बस्ने शंकर महतो र शान्ति सुरक्षाविरुको कसुरका मिथिला नगरपालिका २ का रोसन यादव भने पक्राउ पर्न सकेका छैनन् ।

फरार दुवै थुनुवा भारत पसेकाले पक्राउ गर्न नसकिएको धनुषा प्रहरीले जनाएको छ । उनीहरूको खोजतलास भइरहेको र भारत छिरेका कारण पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

शंकर महतो र रोशन यादवका साथै हिरासतबाट लागुऔषध कसुरमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका ५ का ३९ वर्षीय विनोदकुमार शर्मा, शान्ति सुरक्षाविरुको कसुरमा क्षिरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय अमित मण्डल, २५ वर्षीय हरिदीप सिंह, हातहतियार मुद्दाका मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो हिरासतबाट फरार भएका थिए ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक सर्च अपरेशन चलाएको थियो । खोज तलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते रोशन, १७ गते हरिदिप र अमितलाई पक्राउ गरेको थियो भने १८ गते राति विनोदलाई प्रहरीले पक्राउ गरेको थियो ।