१२ बैशाख २०८१, बुधबार 1713966713
Banner

अदालतबाट मुद्दा लडेर सरकार पाउने भएपछि लोकतन्त्र किन चाहियो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा लडेर सरकार पाउने भए लोकतन्त्र किन चाहियो ? भन्दै वर्तमान सरकारलाई प्रश्न गर्नुभएको छ ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले जनतामा जान नसकेर मुद्दा जितेर परमादेशी सरकार बनेको बताउनुभएको हो ।

‘अदालतबाट मुद्दा लडेर सरकार पाउने भएपछि लोकतन्त्र किन चाहियो ? तर त्यसका लागि पार्टीभित्रैका मान्छेहरू पनि प्रतिक्रियावादीहरूसँग मिल्न गए,’ उहाँले भन्नुभयो, ‘अदालतबाट मुद्दा जितेर सरकार पाउनु भनेको सिमानाको झगडा जस्तो भयो।’ पार्टीभित्रै र बाहिरबाट पनि प्रतिक्रियावादीहरू मिलेर आफू नेतृत्वको सरकार ढलाएको बताउँदै अध्यक्ष ओलीले आफूलाई दुई तिहाइको सरकार जोगाउन नसकेको भन्ने आरोप लागेको तर, आफूले दुईतिहाइ कसरी बनाएको थिएँ भन्ने कुरा अरूलाई थाहा नभएको उल्लेख गर्नुभयो ।

आफू सरकारमा हुँदा जनतामा नयाँ आशा, उत्साह, राष्ट्रिय जागरण र संकल्प अघि बढेको उहाँले बताउनुभयो यस्तो अवस्थामा प्रतिक्रियावादीहरू आत्तिएर आफू नेतृत्वको सरकार ढलाएको उहाँको आरोप थियो ।