१३ बैशाख २०८१, बिहीबार 1714084158
Banner

एनआरएनए निर्वाचनको मनोनयन दर्ता आज, अध्यक्षको उम्मेदवारी दर्ताका लागि १० लाख शुल्क

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ।

संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ । उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

संघको अध्यक्षसहित ५१ पदाधिकारीका लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ । गत अक्टोबरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादका कारण रोकिएको थियो । निर्वाचन समितिले २१ र २२ मार्चका लागि अनलाइन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले सोमबार बिहान अन्तिम ३५ सय ९० जनाको मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, डा। बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिलासहित उपाध्यक्षहरूका लागि सात लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि पाँच लाख रुपैयाँ तोकिएको छ ।

सहकोषाध्यक्षका लागि चार लाख रुपैयाँ, महिला, युवा र क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, महिला, युवा र क्षेत्रीय उपसंयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र र आईसिसी सदस्यहरूका लागि एक लाख रुपैयाँ तोकिएको छ ।