७ बैशाख २०८१, शुक्रबार 1713527835
शिक्षा /स्वास्थ्य

बुद्धिजीवी परिषद्ले आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिने

काठमाडौं। नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले पिछडिएको बस्ती तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा प्रवाह गर्ने विषयमा प्रदेश सरकारलाई सुझाव दिने भएको छ । परिषद्का अध्यक्ष तथा प्रदेश सांसद डा.दिनेशचन्द्र देवकोटाले परिषद्ले आधारभूत स्वास्थ्य सेवा कसरी प्रवाह गर्ने भन्ने प्रस्ट आधार तयार गरेर नीति निर्माण गर्न सरकारलाई सुझाव दिने बताए ।

बुद्धिजीवी परिषद्का स्वास्थ विभागका सदस्य तथा विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग छलफल गरेर परिषद्ले जनतालाई निःशुल्क र आधारभूत सेवा दिन सकिने आधार सहितको सुझाव दिने अध्यक्ष देवकोटाले बताए ।

उनले भने, ‘स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिनुपर्छ। जनतालाई स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था कसरी गर्ने भन्ने बारेमा धारणा बनाएर अघि बढ्नुपर्छ। कार्यान्वयनको लागि जोड दिनुपर्छ।’ यसका लागि हामी सरकारलाई नीति निर्माण गर्न सुझाव दिँदै छौं ।

प्रदेश सरकारलाई सुझाव दिनुभन्दा पहिले परिषद्ले देशका विभिन्न स्थानमा गएर निःशुल्क स्वास्थ्योपचार गर्ने, जनचेतनामूलक काम गर्ने, चेपाङ बस्ती, राउटे बस्तीलगायत पिछडिएका बस्ती र दुर्गम बस्तीमा सेवा दिने र त्यहाँ भएको समस्या र समाधानको उपायसहित प्रतिवेदन बनाएर सरकारलाई बुझाउने डा.देवकोटाले बताए ।

परिषद्ले यसका लागि पहिलो छलफल गरिसकेको छ । परिषद्ले पहिलो चरणमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठसँग छलफल गरेको छ ।

परिषद्ले मन्त्रीसँगको छलफलमा बागमती स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्य विशेषज्ञ, उपचारात्मक व्यवस्था, पोषण, फार्मेसी, स्वास्थ्य हेरचाह व्यवस्थापन, नसर्ने रोग, तीन महिनाको कार्यक्रम, प्रत्येक महिनाको ७ गतेसम्म स्व–मूल्याङ्कन, तत्काल सेवा वितरण, परिभाषित गर्ने नीति, अनुसन्धान शाखा, औषधि प्रशासन, छ महिनाको समय, तत्काल कार्यान्वयन गर्ने नीति, फोहोर व्यवस्थापन र जनशक्ति व्यवस्थापनलगायत विषयमा छलफल गरेको नेपाल बुद्धिजीवी परिषद्का स्वास्थ विभाग संयोजक तथा किष्ट मेडिकल कलेजका प्रमुख प्रशासकिय अधिकृत अक्षयप्रसाद गौतमले बताए ।

नेकपा एमालेले चुनावमा घोषणा गरेको घोषणापत्र अनुसार स्वस्थ क्षेत्रमा कसरी अघि बढ्ने भन्नेबारेमा परिषद्ले छलफल गरेको छ। घोषणापत्रमा ‘निरोगी नेपाल र स्वस्थ्य नेपाली’ नारा दिएको एमालेले पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने’ कुरामा जोड दिएको थियो।

६० हजार सदस्य रहेको परिषद्ले स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने नीतिबारे धारणा बनाएर सरकारलाई सुझाव दिनेछ। डा.देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन् ।

बुद्धिजीवी परिषद् बौद्धिक सङ्गठनको सञ्जाल भएकाले यसको कामले देशव्यापी प्रभाव पार्ने गौमतले बताए। परिषद्ले देशका विभिन्न ठाउँमा गएर आवश्यकता अनुसार स्वास्थ्य सेवा दिने गौतमले बताए । परिषद्ले निःशुल्क आँखाजाँज, चस्मा वितरणलगायतका काममा समेत जोड दिने उनको भनाइ थियो।