१३ बैशाख २०८१, बिहीबार 1714044358
Banner

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकार तयार

काठमाडौं । सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न तयार देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि आन्दोलनरत चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको हो ।

सहमति पत्रको चार नम्बर बुँदामा बिरामी, आम नागरिक, विशेष गरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहज नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकारलाई एकहप्ताभित्र सुझाव पेश गर्ने उल्लेख छ । उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि लेखिएको छ ।

भीभीआईपीको सवारीको क्रममा अरुलाई सडकमा निस्किनसमेत रोक लगाएर दुःख दिने गरिएको आवाज पनि चर्को रुपमा उठ्दै आएको छ ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गरेर शितल निवास फर्किंदै गर्दा प्रहरीले खाली गराएको सडकमा हिँडेको भन्दै ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहमाथि प्रहरीहरु जाइलागेका थिए । त्यसको विरोधमा नेपाल चिकित्सक संघले शनिबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो । यसैक्रममा आज बिहानभर ओपीडी सेवा बन्द गरिएको थियो । लगत्तै आज बिहान प्रधानमन्त्री कार्यालयमा वार्ता भएको थियो ।

वार्तामा ६ बुँदे सहमति भएको छ । चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकारलाई सुझाव दिने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले गरेका थिए । यसैगरी चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की नेतृत्वको टोली सहभागी थियो ।