७ बैशाख २०८१, शुक्रबार 1713527601
Banner

मन्त्रीविहीन गृहमा व्यापक सरुवा र बढुवा

काठमाडौं । माघ १३ मा रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्रीको पद गुमाएपछि मन्त्री रित्त रहेको गृहमन्त्रालको महत्वपुर्ण महाशाखा, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक सरुवा र बढुवा गरिएको छ।

मन्त्रालयको महत्वपुर्ण मानिने सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी सह–सचिव जितेन्द्र बस्नेतलाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गृहमा सरुवा भएका बस्नेलाई गृह प्रवक्ता तोकिएको छ । गृह प्रवक्ताबाट फणिन्द्रमणी पोखरेललाई हटाइएको छ । सह-सचिव पोखरेललाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।

पोखरेल नेपाली कांग्रेस निकट कर्मचारीको रुपमा चिनिन्छन् । उप-सचिव दिलकुमार तामाङलाई सूचना अधिकारीको जिम्मेवारी दिइएको छ । तामाङ ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा सरुवा भएका हुन् । प्रशासन महाशाखामा सह–सचिव केदारनाथ शर्मालाई ल्याइएको छ ।

शर्मा अर्थ मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट गृहमा सरुवा भएका हुन्। काठमाडौंको प्रमुख जिल्ला अधिकारी समेत भैसकेका शर्मासँग यसअघि लामो सयम गृह मन्त्रालयमा बसेर काम गरेको अनुभव छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उप–सचिव कृष्णप्रसाद शर्मालाई मन्त्रालयमा सरुवा गरिएको छ।

शर्मालाई निजामती कर्मचारी प्रशासन शाखा हेर्नेगरी जिम्मेवारी तोकिएको छ । निजामती कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृत भाष्कर दाहाललाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक व्यवस्थापन महाशाखामा सवारी हेर्नेगरी उप सचिव सुरेश सुनारलाई सरुवा गरिएको छ ।

योजना अनुगमन तथा मूल्यांकन शाखाबाट सरुवा गरेर उप-सचिव अर्जुन पौडेललाई सीमा तथा अध्यागमन शाखाको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह सचिव विनोद सिंहले महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।