१३ बैशाख २०८१, बिहीबार 1714051120
Banner

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ः०० बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखेपछि बुधवार ११ः०० बजे र पुनः १ः०० बजेका बोलाइएको प्रदेशसभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।

गत २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरेपछि रावल नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाइ नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ  गरेपछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ । बन्दीहरूको रिहाइ, झुटा मुद्दा फिर्ता लगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाई छ ।