११ बैशाख २०८१, मंगलवार 1713928581
Banner

प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताउनुभएको छ । आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिनुभयो । “स्नातकोत्तर तहको प्रमाणपत्र सिरानमा राखेर केही उपलब्धि हुँदैन”, उहाँले भन्नुुभयो, “अब हरेक शिक्षालयले सीपयुक्त शिक्षामा आधारित जनशक्ति उत्पादन गर्नुपर्छ ।

यसका लागि राज्यले वातावरण बनाउनुपर्छ ।” सो अवसरमा प्राचार्य ठाकुरप्रसाद भट्टराईले बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनीयर, अटो मोबाइल, रेफ्रिजेरेटर एण्ड इयर कण्डिशन तथा मेकानिकल विषय पढाउनका लागि सिटिइभिटीबाट स्वीकृित प्राप्त भइसकेको जानकारी दिनुभयो । हरेक विषयमा ४८ जनाको कोटा रहेको उक्त शिक्षालयले हरेक वर्ष एक सय ९२ विषयगत प्राविधिक जनशक्ति उत्पादन गर्ने उहाँले बताउनुभयो । रु चार करोड ६४ लाखमा निर्माण सम्झौता भएको उक्त भवन काठमाडौँको जेभी भाईवा निर्माण कम्पनीले बनाउन ठेक्का लिएको छ ।

अठार कोठे तीन तले भवन यही आगामी २०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।