१२ बैशाख २०८१, बुधबार 1714005044
पर्यटन

महाशिवरात्रिको तयारीलाई मूल समारोह समिति

काठमाडौं । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो । पशुपतिनाथमा आउने भक्तजनलाई सहज रुपमा दर्शनको व्यवस्था मिलाउन नौ उपसमितिसमेत गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा शङ्कराचार्य निश्चलानन्द सरस्वतीको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ । यसैगरी कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा प्रचारप्रसार, स्वयंसेवक व्यवस्था उपसमिति,परिषद सदस्यद्वय देवीप्रसाद बराल र उत्सव बडालको संयोजकत्वमा आवास, भोजन तथा भौतिक व्यवस्था उपसमिति गठन गरिएको छ ।

परिषद्् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवाउपसमिति, परिषद सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ताचप्पल व्यवस्था उपसमिति,परिषद सदस्य अर्जुनप्रसाद वास्तोलाको संयोजकत्वमा साधुसन्त तथा पूजा पाठ व्यवस्था उपसमिति गठन गरिएको छ ।

यसैगरी परिषद सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण तथा रात्रिकालीन व्यवस्था उपसमिति, परिषद सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा मेला, बजार व्यवस्थापन, साज सजावट उपसमिति र कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा मूल्याङ्कन, तथ्याङ्क सङ्कलन तथा स्मारिका प्रकाशन उपसमिति गठन गरिएको छ । बैठकले महाशिवरात्रिका अवसरमा फागुन ६ गते पशुपतिनाथ मन्दिर प्राङ्गणमा नेपाली सेनालाईमात्र खटाउने निर्णय गरेको छ । महाशिवरात्रिका अवसरमा कोषले लिङ्ग पुराणसमेत आयोजना गर्न लागेको छ । यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आमन्त्रण गरेको कोषले जनाएको छ ।