१२ बैशाख २०८१, बुधबार 1713987218
Uncategorized

बदनाम बन्दै वाग्मती सरकार

मकवानपुर — वाग्मती प्रदेश सरकार गठन भएको करिब चार वर्षको अवधिमा मन्त्रिपरिषद् फेरबदल र पुनर्गठन अस्थिर रूपमा अगाडि बढिरहेको छ । हालसम्म प्रदेशमा तीन वटा सरकार परिवर्तन भइसकेका छन् । नेकपा विभाजन भएर एमाले र माओवादीको अस्तित्वमा फर्केसँगै आफ्नो पद जोगाउन तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले सुरु गरेको बेथिति अहिले झनै झाँगिएको छ । पौडेलले पद जोगाउन प्रदेशसभा अधिवेशन नै जथाभावी रूपमा स्थगित गर्दै अगाडि बढेका थिए भने हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा भाग पुर्‍याउन जम्बो मन्त्रिपरिषद् बनाएका छन् । उनको मन्त्रिपरिषद् सातै प्रदेश सरकारमध्ये ठूलो बनेको छ ।

देशमै पहिलो संघीयता अभ्यास गरेको वाग्मती प्रदेश सरकारको स्थापना २०७४ माघ २९ मा भएको थियो । करिब ४२ महिना ७ दिन तत्कालीन नेकपाका तर्फबाट पौडेलले वाग्मती प्रदेश सरकारको बागडोर सम्हालेका थिए । उनीपश्चात् एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ७१ दिन सरकारको नेतृत्व गरिन् । कात्तिक ११ देखि वर्तमान मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । गठबन्धनमा भएको सहमति कार्यान्वयन भए उनी जेठसम्म मुख्यमन्त्री रहनेछन् । असारबाट कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने दाबी सत्तारूढ गठबन्धनमा रहेका दलहरूले गरिरहेका छन् ।