८ बैशाख २०८१, शनिबार 1713620325
समाचार

अधिवक्ता घिमिरेलाई गान्धी नोबेल पिस अवार्ड

काठमाडौं । बेलायतमा दिइने अन्तर्राष्ट्रिय स्तरको गान्धी नोबेल पिस अवार्ड–२०२२ नेपालका युवा मानवअधिकारकर्मी एवम् अधिवक्ता गणेशप्रसाद घिमिरेले पाउने भएका छन् । शनिबार बिहान आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपालले आफ्नो आधिकारिक वेभ साइट, फेसबुक र इमेलबाट घिमिरेले अवार्ड पाएको जानकारी दिएको हो ।

अहिंसाको माध्यमबाट मानवअधिकार, शान्ति, सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पुर्याएकोमा विश्वभरका व्यक्तिहरुलाई दिइने यो वार्षिक पुरस्कार हो । बेलायतको विश्व हिन्दु केन्द्र, साउथ हल, लण्डनमा आगामी जुन ३ तारिखमा समारोहबीच यो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । विश्वभरबाट १०४ जनालाई यो वर्ष गान्धी नोवेल पिस अवार्ड–२०२२ प्रदान गर्ने कार्यक्रम रहेको आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपालका अध्यक्ष डा.लालबहादुर रानाले जानकारी दिए । अधिवक्ता घिमिरे मानवअधिकार तथा सामाजिक न्याय, सञ्चार र शान्तिका क्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील रहँदै आएका छन् । सशस्त्र द्वन्द्वका बेला राज्य पक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीबाट दैनिक चरम मानवअधिकार उल्लंघन हुँदा देशमा स्थायी शान्ति, सबै नागरिकको जीवनरक्षा र मानवअधिकारको मूल्यमान्यता अनुसार सबैले बाँच्न पाउने अधिकार स्थापित होस् भन्ने उद्देश्यले विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले २०६१ सालमा स्थापना गरेको मानवअधिकार पत्रकार संघ (हुर्जा) को संस्थापक कोषाध्यक्ष र पछि २ कार्यकाल (६ वर्षसम्म) संस्थाको महासचिव भएर पनि कार्य गरेको उनीसँग अनुभव छ ।

उनी एम्नेष्टी इन्टरनेशनल नेपाल शाखा समूह ३ काठमाडौंका पूर्व संयोजक हुन् । हाल उनी एम्नेष्टी इन्टरनेशनल नेपालको आप्रवासी श्रमिक सम्वन्धी राष्ट्रिय कार्य समूहका संयोजक हुन् ।

घिमिरेले मानवअधिकार र स्वतन्त्र पत्रकारका रुपमा समग्र मानवअधिकारको रक्षा, सामाजिक न्याय र नेपाली जनताको मानवअधिकारको रक्षा एवं सम्मान र जीवनरक्षाका लागि एम्नेष्टीका अभियानहरुमा आफनो सक्रिय सहभागी जनाउँदै आएका छन् ।

विभिन्न विश्वविद्यालय, कलेज र स्कुलहरुमा मानवअधिकार सम्वन्धी कार्यक्रम तथा मोटिभेसनल लेक्चरमा लोकप्रिय छन् । उनी विश्वव्यापी मानवअधिकार अभियान र मानवअधिकार शिक्षाको प्रबर्धनमा सक्रिय अन्तर्राष्ट्रिय संस्था युथ फर ह्युमन राइट्स इन्टरनेसनल, युएसएबाट सन् २०१९ मा ह्युमन राइट्स हिरो आवार्डबाट सम्मानित भइसकेका छन् ।