१२ बैशाख २०८१, बुधबार 1714019111
राजनीति

शान्ति प्रक्रियाको बाँकी कामलाई प्राथमिकता दिन ढकालको माग

काठमाडौं- पूर्व शान्ति तथा पुनर्निमाण मन्त्रीसमेत रहनुभएका एमाले सांसद एकनाथ ढकालले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी काम अविलम्ब सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको बताउनुभयो । उहाँको प्रश्न थियो- ‘विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ र को सँग छ ?’

ढकालको भनाइ थियो, ‘शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता अहिले तेस्रो पटक प्रधानमन्त्री हुनुहुन्छ । तर, अझै पनि शन्ति प्रक्रियाको एक महत्वपूर्ण पक्ष संक्रमणकालीन न्यायसम्बन्धी कार्यमा खासै प्रगति हुन सकेको छैन ।’