१३ बैशाख २०८१, बिहीबार 1714080153
राजनीति

सोचेजस्तो यहाँ हुँदो रहेनछ: उपाध्यक्ष दाहाल

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधि सभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रिय सभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छन्। 

आफ्नो कार्यकालको उपलब्धिबारे जानकारी दिँदै उनले भनिन्, ‘विज्ञको प्रतिनिधित्व भएको स्थायी सदनका रूपमा व्याख्या गरी रहँदा प्रतिनिधि सभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रिय सभालाई छोयो, सभा सञ्चालन हुन सकेन, जुन हुनुहुँदैन भन्ने मलाई लागेको छ’।

उपाध्यक्ष दाहालले थप भनिन्, ‘चार वर्षको अवधिमा गर्न पर्ने धेरै थियो, हिजो जुन सोचेर आएको थिएँ, सोचेजस्तो यहाँ हुँदो रहेनछ। कोरोना र राजनीतिक संक्रमणले पछिल्ला दुई वर्ष काम कारबाही अघि बढाउने सवालमा झन ओझेलमा पर्‍यो।’

सातै प्रदेशका उपसभामुख भेलाबाट पारित घोषणापत्र कार्यान्वयन भएमा सरकार, संघीय संसद र प्रदेश सभा संविधानको मर्म र भावना अनुरूप समावेशी मुद्दा कार्यान्वयनमा सहजता हुने बताउँदै उनले वर्तमान अवस्थामा जस्तै प्रदेशका सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्री पुरूषमात्र हुने प्रवृत्तिको अन्त्य भई समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न जरूरी भएको धारणा राखिन्।

उपाध्यक्ष दाहालले भनिन्, ‘चार वर्षे कार्यकालमा संसदीय समिति बैठक र प्रदेश सभा भाग लिन नपाएकोमा खल्लो महसुस लागेको छ। संसदीय अभ्यासमा धेरै अनुभव भए पनि आफैंले सभा सञ्चालन र अन्त्य गर्न तथा सभामा बोल्न नपाएकोमा सोचे जस्तो भएन भन्ने लागेको छ। कानुनमा उपाध्यक्षले सदन चलाउन नपाइने भन्ने थिएन, आगामी दिनमा सदन चलाउन र बोल्न पाउने संस्कार सुरू गर्नुपर्छ।’

उपाध्यक्ष दाहालसहित तीन विषयगत समितिका सभापतिसहित २० राष्ट्रिय सभा सदस्यको चार वर्षे कार्यकाल आजैदेखि समाप्त हुँदैछ।