६ बैशाख २०८१, बिहीबार 1713481807
समाचार

निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताउनुभएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको १३औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले निजी क्षेत्रलाई माथि उठाउने गरी आफू गम्भीरताका साथ लागि परेको बताउनुभयो । नेपालको अर्थतन्त्र यति बेला सङ्कुुचनमा आएको बताउँदै व्यापार घाटा थाम्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । सरकारले आफ्ना २१ बुँदे कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै उहाँले एक साताभित्र आफ्नो मन्त्रालयले पनि कार्ययोजना निर्माण गर्ने जानकारी दिनुभयो ।

यसमा उद्योग वाणिज्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाउनुभयो । मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा उद्योगलाई माथि उठाउने गरि बजेट विनियोजनमा जोड दिइने बताउनुभयो । निजी क्षेत्रको अभिभावक नपाएको गुनासो बढेको भन्दै मन्त्री भण्डारीले ती गुनासोलाई सम्बोधन पहिलो प्राथमिकता रहेको पनि प्रतिबद्धता जनाउनुभयो । कपिलवस्तु जिल्लामा उद्योगको सङ्ख्या धेरै रहेकाले अहिले जटिल समयमा उद्योगलाई बचाउनुपर्नेमा उहाँको जोड थियो । धार्मिक तथा पर्यटकीय हिसाबले पनि कपिलवस्तु जिल्ला ऐतिहासिक रहेकाले यहाँ रहेका स्थलमा पर्यटकलाई आकर्षित गराउनुपर्ने उहाँको भनाइ थिभयो ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष डोलकराम घिमिरेले महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, वेशभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो । ‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ कपिलवस्तु उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।