१३ बैशाख २०८१, बिहीबार 1714092170
Banner

राष्ट्रियसभाका नवनिर्वाचित १९ जना सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उहाँहरूले शपथ लिनुभएको हो ।

शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार हुनुहुन्छ ।

नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे,  तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिनुभएको छ । 

नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरूप शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफ्नो जातीय भेषभूषासहितको पहिरनमा आउनुभएको देखिन्थ्यो ।

राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उहाँहरूको कार्यकाल छ वर्षको हुनेछ । 

समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नुभयो । सचिवालयका महासचिव डा.भरतराज गौतमले उहाँहरूलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी हुनुहुन्थ्यो । 

संसद् सचिवालयले उहाँहरूलाई संसद् र संसदीय अभ्यासबारे आजै सङ्क्षिप्त जानकारी दिने कार्यक्रमसमेत राखेको छ ।