१३ बैशाख २०८१, बिहीबार 1714103112
Banner

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई दियो २० बुँदे सुझाव

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै समाजवादी पार्टीले २० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी समस्यामा परेको बताएका छन् । आर्थिक समस्याले बाँच्न धौधौ हुँदा दैनिक आत्महत्या बढेको ठहर समाजवादी पार्टीको छ । भ्रष्टाचार मुक्त गर्ने अभियान सञ्चालन गर्न, बैंकको समस्या समधान गर्न, कर्जा दिंदा १२ प्रतिशत बढी नहुनेगरी व्यवस्था गर्न सो दलले माग गरेको छ । व्याज लिएका कृषकका लागि आगामी २०८० असार मसान्तसम्म भाकाको व्यवस्था गर्न माग गर्दै सो दलले असंगठित क्षेत्रका श्रमिकलाई तोकिएको ज्यालाको व्यवस्था गर्न पनि माग गरेको छ ।

‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस्’, अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लेखिएको छ । आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई विभिन्न २० बुँदामा सुझावसमेत दिइएको छ ।