१२ बैशाख २०८१, बुधबार 1713999276
Uncategorized

ओमिक्रोन सङ्क्रमण : स्वास्थ्य मापदण्ड तय गर्न मन्त्रालयका प्रतिनिधिको बैठक

कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएसँगै नेपालमा थप स्वास्थ्य मापदण्ड तय गर्न मन्त्रालयका प्रतिनिधिको बैठक सिंहदरबारमा सुरु भएको छ । नेपाल पर्यटन बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा बैठक सुरु भएको भएको नेपाल पर्यटन बोर्डका कार्यवाहक कार्यकारी प्रमुख नन्दिनी थापाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण रोक्न नेपाल सरकारले यस अघि ६७ देशबाट नेपाल प्रवेशमा कडाइ गर्ने निर्णय गरेको थियो । सर्वत्र विरोध भए पनि सरकारले तत्काल निर्णयलाई स्थगित गरेपछि थप स्वास्थ्य मापदण्ड तय गर्ने बारे स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयको प्रतिनिधि र पर्यटन व्यवसायीबीच बैठक सुरु भएको हो । बैठकले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै सङ्क्रमणलाई फैलिन नदिने गरी निर्णयसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने गरी निर्णय गर्ने उहाँले बताउनुभयो ।

मङ्सिर १३ को मन्त्रिपरिषद्को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने लगायत स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्नुपर्ने माग अध्यागमन विभाग र स्वास्थ्य मन्त्रालयले गर्दै आएका छन् । तर अन्य मुलुकका नागरिकलाई प्रवेशमा कडाइले नेपालको पर्यटन क्षेत्रमा असर पुग्ने भन्दै यसमा ख्याल गर्दै मापदण्ड तय गर्न पर्यटन बोर्ड लागिपरेको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताउनुभयो । बैठकपछि सिसिएमसीसँग समन्वय गरेर तत्काल मापदण्ड सार्वजनिक गर्ने जनाइएको छ ।