११ बैशाख २०८१, मंगलवार 1713912503
Banner

सवारी रोकेर निर्माणको काम गर्दा यात्रुलाई हैरान

पाल्पा- सडक डिभिजन कार्यालय पाल्पाले एउटै सडक निर्माणका लागि पटक-पटक सवारी रोकेर निर्माणको काम गर्दा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । पाल्पा–गुल्मी सडक खण्ड रिब्दीकोट गाउँपालिकाको माल्मूल जोर्ते क्षेत्रमा दैनिक सवारी रोकेर काम गर्दा यात्रु मर्कामा परेका हुन् ।

सडक चौडा गर्न सडक डिभिजन कार्यालयको समन्वयमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गरेको छ । तीव्र गतिमा काम नगर्दा दुई महिनादेखि सडकमा यात्रा गर्ने यात्रुले समयमा गन्तव्यमा पुग्न नसकेको गुनासो गरेका छन् ।

दैनिक कम्तीमा १४ घण्टा सडक बन्द हुँदा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मका सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । सवारी रोकेर काम हुँदा समयमा गन्तव्यमा पुग्न सकिएको छैन भने दैनिक यात्रामा निस्केकालाई त झनै समस्या हुने गरेको यात्रुहरुले बताएका छन् ।

महिनौदेखी एउटै स्थानमा काम भएपनि कामले गति नलिदा समस्या भएको यात्रुहरुले बताएका हुन् । उता सडक डिभिजन कार्यालय पाल्पाले भने , दुई वर्षअघि र यसैवर्ष लागेको ठेक्काको काम गराउन मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बन्द गरेर काम गराएको छ ।

सडक डिभिजन प्रमुख प्रदीपमणी निरौलाले पाल्पा–गुल्मी सडक खण्डको मालमुल–जोर्ते–रिडी सडकखण्ड चौडा गर्ने कामको बन्द गर्ने समय पुनरावलोकन हुने बताउनुभयो । आउँदो फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द गर्नेरी काम भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–३, मालमुल क्षेत्रमा कामको ठेक्का लिएको दर्शन–वीएण्डबी जेभीले एक किलोमिटर सडक चौडा गर्ने, दुई किलोमिटर कालोपत्रे गर्ने र नाली निर्माणको काम लिएको छ ।

४ करोड ठेक्का भएपनि घटेर ३ करोड २९ लाखमा ठेक्का लिएको छ । यस्तै यही क्षेत्रमा अधिकारी–कार्की जेभीले ४ किलोमिटिर सडक कालोपत्रे, चौडा गर्ने लगायतका कामका लागि ४ करोड ५० लाखको काम भइरहेको छ ।