१३ बैशाख २०८१, बिहीबार 1714055953
Banner

म सभामुख हुँदा एमाले बिभाजन गरेको छैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण दिनुभएको छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले २०५४ सालमा र २०७८ सालमा सभामुखले एमाले विभाजन गरिदिएको आरोप लगाएपछि त्यसको जवाफ पौडेलले आज दिनुभएको थियो । नेता पौडेलले आफू सकेसम्म दल विभाजन गर्न हुन्न भन्ने पक्षमा रहेको दावी बताउनुभयो। उहाँले भन्नुभयो ‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरु फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ’ एमालेका सदस्यहरुलाई मैले त्यही कुरा भनेँ । तपाईंहरुको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ ।’

‘कर्णालीको पुलको माझमा पुगेपछि उच्च अधिकारीहरुले यहीँबाट फर्किनुपर्‍यो भने, म काम नसकी जान्न भनेर धनगढी गएँ । अर्को दिन महेन्द्रनगर गएँ । म मञ्चबाट झर्दा हेलिकप्टर आइरहेको रहेछ । त्यसमै चढेर आएँ । लौ एमाले फोर्न दौडेर आयो भने ।’ पौडेलले भन्नुभयो म माथी आरोप लागेपनि मैले एमाले फुटाएको होईन ।

सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उहाँले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।