१३ बैशाख २०८१, बिहीबार 1714027591
अर्थ

युवा स्वरोजगार कोषका १३ वर्ष : ८३ हजारले पाए रोजगारी

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बेरोजगार युवालाई स्थानीय कच्चा पदार्थ प्रयोगमार्फत देशका ८३ हजार ४०९ जनालाई स्वरोजगार सिर्जना गरेको छ । कोषको १३औँ वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा स्थापनादेखि हालसम्म बेरोजगार त्यो सङ्ख्याका युवालाई स्वरोजगार बनाएको जानकारी दिइएको हो ।

कोषका अनुसार युवालाई परम्परागत सीपसँग सम्बन्धित व्यवसाय, होमस्टे व्यवसाय, स्थानीय कच्चा पदार्थ प्रयोग गरी सञ्चालन गरिने अन्य उद्योग व्यवसायलगायतमा जम्मा ११ अर्ब नौ करोड रुपियाँ कर्जा लगानी गरेर त्यो सङ्ख्यालाई स्वरोजगार बनाएको हो । कोषले एक हजार ९६८ सहकारी तथा २६ बैङ्क तथा वित्तीय संस्थामार्फत व्यावसायिक खेती तथा पशुपन्छीपालन, दूधजन्य व्यवसाय, माछापालन, कृषि तथा वनजन्य उद्योग, घरेलु तथा साना उद्योग, रिक्सा व्यवसाय, ठेलागाडा सेवा सञ्चालनलगायत उक्त रकम खर्च भएको जनाइएको छ ।

कोषका उपाध्यक्ष डा. देवराज कल्याण रोक्काले नेपालमा बेरोजगारीको दर बर्सेनि २३ प्रतिशतको हाराहारीमा भएकाले यसलाई घटाउन स्वरोजगारका कार्यक्रमलाई सरकारका नीति कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।उहाँले कोषलाई परिणाममुखी बनाउन तथा लक्षित समूहसम्म पुग्नका लागि प्रदेश र स्थानीयस्तरमा कार्यालय विस्तार गरी आवश्यकताअनुसार ऐन, नियमावलीलगायत विभिन्न कानुन निर्माण तथा संशोधनसमेत गरी सफल कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो । उपाध्यक्ष रोक्काले “पैसा अभावबाट कोही २१ देखि ६० वर्षसम्मका व्यक्ति बेरोजगार हुनुहुन्छ भने हामीले पैसा मात्रै होइन, सीप पनि सिकाएर स्वरोजगारतर्फ उन्मुख गराउँछौँ,” भन्नुभयो ।

उहाँका अनुसार हाल देशमा नेपाल सरकारका विभिन्न मन्त्रालयमा रहेका समान प्रकृतिका संस्थाहरू युवा तथा साना व्यवसायी स्वरोजगार कोष, गरिबी निवारण कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री स्वरोजगार कार्यक्रम, मेयर स्वरोजगार कार्यक्रम, राष्ट्रिय युवा परिषद्अन्तर्गत रहेका कार्यक्रम, विभिन्न मन्त्रालयअन्तर्गत रहेका स्वरोजगार कार्यक्रमलाई एकीकृत रूपमा एउटै छाता सङ्गठनभित्र राखी सञ्चालन गर्नुपर्नेछ ।

कोषले २०७८ पुस मसान्तसम्ममा ४२ हजार ५६३ जना व्यवसायीलाई अभिमुखीकरण तालिम, आठ हजार ४४० जना व्यवसायीलाई सीपमूलक तालिम, पाँच हजार ८० जना वित्तीय संस्था तथा सहकारीका पदाधिकारीलाई अनुशिक्षण तालिम प्रदान गरिएको छ । कोषबाट कर्जा उपयोग गर्ने सबै व्यवसायीको बीमा कोषले निःशुल्क गर्ने व्यवस्थाबमोजिम हालसम्म स्वरोजगार भएका ६१ हजार १३२ जना व्यवसायीको बीमा गरिएको छ । यसअन्तर्गत एक हजार ६१ जना व्यवसायीलाई छ करोड २४ लाख बराबर बीमा क्षतिपूर्ति उपलब्ध गराइएको छ । नियमित रूपमा साँवा ब्याज भुक्तानी गर्ने व्यवसायीलाई ६० प्रतिशत ब्याज अनुदान प्रदान गर्ने व्यवस्थाबमोजिम कोषले १३ हजार ७६५ जना व्यवसायीलाई १५ करोड ३३ लाख बराबर ब्याज अनुदान वितरण गरेको छ । जुन व्यवस्थाले गर्दा कर्जा नियमित भुक्तानी गर्न व्यवसायीलाई प्रोत्साहित गरेको छ ।