१३ बैशाख २०८१, बिहीबार 1714093733
Banner

जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या

जनकपुरधाम । जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ ।

करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुर उपमहानगरपालिका ८ का जगदीश साहका छोरा २१ वर्षीय रोहित साह र वडा नम्बर १३ निवासी रामबाबु साहको छोरा २२ वर्षीय विष्णु साहको हत्या भएको हो।

मृतक दुवैजना एकै परिवारका हुन्। मृतक विष्णुको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक आफ्नो नातेदारको घर गएका थिए। त्यसपछि गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरे।

त्यसपछि अपहरणकारी २० लाख लिएर सर्लाही मलंगवा नाका नजिकमा बोलाएका थिए सो कुरा विष्णुका परिवारले प्रहरीलाई जानकारीसमेत गराइसकेका थिए। तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरेको थियो। उक्त शव तिनै दुई युवाको रहेको पुष्टि भएपछि अहिले परिवारसहित गाउँ नै शोकमा डुबेको छ।