४ बैशाख २०८१, मंगलवार 1713314533
Banner

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ । पूर्वस्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बैठकमा एमसीसीबारे ‘नोट अफ डिसेन्ट’ राखिने जानकारी दिनुभयो ।

“केन्द्रीय कमिटीको बैठकमा हाम्रा कुरा राख्छौँ । एमसीसी सम्झौताका बारेमा बहसका निम्त भिन्न मत भनेर हामी राख्छौँ,” पोखरेलको भनाइ छ, “पारित भइसकेको स्थितिमा नोट अफ डिसेन्ट राख्छौँ ।”

गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।
त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
केन्द्रीय कमिटी बैठकले अरू पदाधिकारीको टुंगो लगाउने नेताहरू बताउँछन् ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्व स्थायी समिति बैठकको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले फरक मत राखेका थिए।