८ बैशाख २०८१, शनिबार 1713612439
समाचार

यस्तो छ नेपालमा हवाई दुर्घटनाको इतिहास

काठमाडौं । प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक सय चारवटा विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ । मानवीय क्षतिको हिसाबले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो ।

तुलनात्मकरूपमा सुरक्षित भनिने एटिआर सिरिजका विमान दुर्घटना पर्नु आफँैमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सिता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ । नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो ।

सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो । यस्तै १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो ।

सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा हुँदा एक सय ५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटना भए पनि मानवीय क्षति भने भएन । सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटकसहित छ जनाको मृत्यु भएको थियो ।

सन् २०१८ मार्चमा बङ्गलादेशबाट नेपाल आएको युएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु भएको थियो । यस्तै सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

सन् २०२२ को मे २७ मा यती एयरलाइन्सको भगिनी संस्था तारा एयरको ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।