८ बैशाख २०८१, शनिबार 1713609344
कला/साहित्य

रंगपत्रकार कुबेर गिरीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्रदान 

काठमाडौँ । रंगपत्रकार कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित हुनुभएकाे छ  । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा शुक्रबार आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’मा राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीलाई उक्त पुरस्कार प्रदान गर्नुभयाे  । कार्यक्रममा पत्रकार डब्बु क्षेत्रीले पनि ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएकाे थियाे  । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप भएको बताउनुभयाे  । नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको उहाँको धारणा थियो ।

‘नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व स्वरुप बसोबास गर्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत रहेको छ’ उहाँले भन्नुभयाे ‘नेपाली मौलिक गीत सङ्गीतको जगपुस्ताका रुपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनुभएको छ ।’

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने स्रष्टा सर्जकहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गर्नुभएकाे थियाे  । सो अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको थियो ।

यस्तै, एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८’ प्रदान गरियो ।

यसैगरी, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरिएको कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो । 

कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गर्नुभयाे ।