१८ बैशाख २०८१, मंगलवार 1714476945
अर्थ

महोत्सवले बढाएको व्यापार सम्झँदा ….

नुवाकोट । म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ  ।

विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिनुहुन्छ । महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउनुहुन्छ । 

“उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो । अहिले रु ५० हजार आम्दानी हुन मुस्किल छ”, उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठुलो राहत पुग्ने गरेको छ । महोत्सवबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे । महोत्सवको समयमा रातभरि झोला बुनेको याद सम्झँदा पनि आनन्द लाग्छ ।”

कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आइ राख्नुभएको छ  । उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ । उद्योग सञ्चालन गर्नुको साथै उहाँ नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्नुहुन्छ । रजनी हस्तकला उद्योगबाट उत्पादित कुसन गुडिया हो । 

उहाँले भन्नुभयो, “जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ ।” मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह/जाँगर थपिदिन्छ ।

विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ । विसं २०७२ मा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन गर्नुभएको ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रूपमा परिचित गराएको हो । 

“व्यवसाय सञ्चालन गरेको सुरुवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो । बजारको समस्या थियो । बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो”, उहाँले भन्नुभयो, “साना ठुला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्न पर्‍यो तपाईँको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ । हाल बजारको खासै समस्या छैन । मागअनुसार उत्पादन गर्न भने मुस्किल छ ।”

सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र
​​​​​​​‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवर्द्धन, दिगो आर्थिक विकासको लागि व्यावसायिक प्रवर्द्धन’ भन्ने नारासहित नुवाकोट उद्योग वाणिज्य सङ्घ सातौँ महोत्सवको तयारीमा जुटेको छ ।

यही माघ २७ देखि फागुन १०गतेसम्म महोत्सव सञ्चालन हुने भएकाले आवश्यक पूर्व तयारीमा नुवाकोट उद्योग वाणिज्य सङ्घ जुटेको हो ।

जिल्लामा आर्थिक रूपले लगानीमैत्री वातावरण सिर्जना गरी बाह्य लगानीलाई आकर्षण गराउने उद्देश्यले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो । विदुर नगरपालिका–५ स्थित पिपलटारमा हुने महोत्सव अघिल्लोभन्दा पृथक् रहने अध्यक्ष कार्कीले बताउनुभयो । 

महोत्सव तयारीको लागि मूल समारोहको संयोजकसहित विभिन्न ३० उपसमितिको संयोजक चयन गरिएको हो । 

जिल्ला समन्वय समिति नुवाकोट र जिल्लाको १२ वटै स्थानीय तह सह आयोजनामा हुने महोत्सवको प्रवर्द्धकमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल पर्यटन बोर्ड रहेको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक एवं सङ्घका प्रवक्ता सविन राज भण्डारीले जानकारी दिनुभयो ।

महोत्सवलाई मनोरञ्जनात्मक, व्यवस्थित र बाल उद्यान तथा स्टल निर्माणको लागि नारायणी फेयर एक्जिवेशन नेपाल प्रालिसँग सम्झौता भइसकेको प्रवक्ता राज भण्डारीले जानकारी दिनुभएको हो । 

महोत्सवमा तीन सय स्टल रहनेछ । महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असहायलाई पूर्ण छुटको व्यवस्था रहेको प्रवक्ता सविन राज भण्डारीले भन्नुभयो । 

महोत्सवमा रु २० करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । करिब सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिब रु २० लाख  मुनाफा हुने अपेक्षा गरिएको सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस