८ बैशाख २०८१, शनिबार 1713605412
अर्थ

उखु किसान आन्दोलित

कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

आव २०७१÷७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ । त्यस्तै महालक्ष्मी सुगर मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकाले उक्त मेसिन किसान सङ्घको नाममा गरिदिने, विसं २०७३÷७४ मा सरकारले तोकेको मूल्यभन्दा महालक्ष्मी सुगर मिलले कम मूल्यमा उखु खरिद गरेकाले सो रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् । सरकारले उखुको मूल्य बर्सेनि तोक्ने तर स्थानीय व्यापारीले किसानाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो ।

किसानको मागमा सिँचाइको व्यवस्था, किसानले ट्र्याक्टर खरिदमा भन्सारमा सहुलियत, चिनी मिलको स्थापनालगायतका नौ बुँदे माग गरेका छन् । पटक–पटकको आन्दोलनपछि २०७७ साल पुस १३ गते नेपाल सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी रहेको अध्यक्ष चौधरीले बताउनुभयो । ज्ञापनपत्र दिँदै अध्यक्ष चौधरीले माघ २० गतेसम्म पनि कुनै सुनुवाइ नभएमा माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

किसानहरूले जीविकोपार्जनका रूपमा उखुखेती गरे पनि सरकारले किसानलाई संरक्षण गर्नुपर्ने समयमा उद्योगलाई संरक्षण गरेको आरोप लगाउनुभयो । पटक–पटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकाले किसान पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाइ छ । विगतको तुलनामा उखु उत्पादन गर्ने किसानको सङ्ख्या पनि घटेकाले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।