१३ बैशाख २०८१, बिहीबार 1714044863
Banner

सभामुखको निर्वाचन आज हुँदै, देवराज घिमिरेको पक्षमा बहुमत

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधवार सत्ता गठबन्धनबाट देवराज घिमिरे र विपक्षीकातर्फबाट कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । आज दिउँसो ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परेपनि सांसदको अङ्कगणितका आधारमा एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका सांसद घिमिरे निर्वाचित हुने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमध्ये घिमिरेको पक्षमा १४५ भन्दा बढी सांसदले मतदान गर्ने निश्चित जस्तै छ। सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात १३८ मत आवश्यक पर्छ ।

घिमिरेको पक्षमा अहिलेसम्म नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद गरी १४५ सांसद पुग्छ । घिमिरेलाई जसपा र लोसपाले पनि मत दिए यो उनको पक्षमा १६० मत कट्ने देखिन्छ । जसपाका १२ सांसद छन् भने लोसपाका ४ जना सांसद रहेका छन् ।

यता कांग्रेसका ईश्वरी न्यौपानेले आफ्नो पार्टीका ८९ मध्ये ८८ मत पाउनुहुनेछ । यसमा एकीकृत समाजवादीको १० भोट थप्दा ९८ हुनेछ भने यसमा लोसपाका ४ सांसद थप्दा १०२ पुग्छ।

मन्त्रीमा नसमेटिएका उनीहरुले कांग्रेसलाई मत दिए भने यी सबै मत जोड्दा कांग्रेसको भागमा १०७ पुग्छ। जसपा, नागरिक उन्मुक्ति र जनमतको २२ सिट थप्दा पनि बहुमत पुग्दैन।