११ बैशाख २०८१, मंगलवार 1713917355
Banner

पोखराबाट थप एक शव ल्याइयो, त्रिवि अस्पतालमा परीक्षण हुँदै

यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव आज काठमाडौँ ल्याइएको छ ।

मङ्गलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८ शव काठमाडौँ ल्याइएको थियो । मङ्गलबार फेला परेको एक शव भने आज दिउँसो काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याइएका शवको आज बिहानदेखि नै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण भइरहेको छ । मङ्गलबार काठमाडौँ ल्याइएका शवमध्ये अहिलेसम्म १२ शवको परीक्षण भइसकेको यती एयरलाइन्सले जनाएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये २२ शवको परीक्षण गरेर पोखरामा नै हस्तान्तरण गरिए पनि बाँकी ४९ शव भने काठमाडौँ ल्याइएको थियो ।

काठमाडौँ ल्याइएकामध्ये पहिचान खुलेका २१ शवको परीक्षण गरेर भोलि बिहान मृतकका परिवारलाई हस्तान्तरण गरिने एयरलाइन्सले जनाएको छ । पहिचान नखुलेका शवको भने डिएनए टेस्ट गरेर मात्र शव परीक्षण गरी मृतकका परिवारलाई बुझाइनेछ । चालक दलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजीकार्य जारी रहेको छ ।