८ बैशाख २०८१, शनिबार 1713612624
समाचार

स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कान्ति बाल अस्पतालको अनुगमन गर्नुभएको छ ।

मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गर्नुभएको अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्री गिरीले २५ शय्याको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइसियु), बच्चाको क्यान्सर शय्या, नवजात शिशुको एचडियु (हाइडिपेडेन्सी युनिट) र कुरुवा घरको अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा मन्त्री गिरीले नवजात शिशुको मृत्युदर कसरी घटाउने भन्नेमा चासो राख्नुभएको अस्पतालका निर्देशक डा बसौलाले बताउनुभयो ।

नेपालमा अहिले प्रतिएक हजारमा २१ जना बाल मृत्युदर हुने गरेको छ । सन् २०३० दिगो विकास लक्ष्यअनुसार बालमृत्युदर १२ जनामा झार्ने लक्ष्य राखिएको छ ।

कुरुवा घरमा बिरामीका कुरुवासँग उपचार र बस्ने सुविधाका बारेमा कुरा गर्नुभएको अस्पतालका निर्देशक डा बसौलाले जानकारी दिनुभयो । उहाँले नवनियुक्त मन्त्री गिरीसँग जनशक्ति र उपकरण अभाव रहेको जानकारी गराएको बताउनुभयो । मुलुकको एकमात्र बाल अस्पतालका रूपमा अस्पतालमा तीन सय ३० शय्या सञ्चालनमा रहेको छ ।

दैनिक छ सयभन्दा बढी बालबालिका उपचार हुने अस्पतालले एक हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने सरकारको योजना रहेको छ ।