१४ बैशाख २०८१, शुक्रबार 1714133033
Banner

विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने

पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौँ लगिने भएको छ ।

दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ ।

पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौँबाट आउनुभएका फरेन्सिक विभागका चिकित्सकहरुले दिनुभएको थियो । शव राजधानी लैजान आज नै सेनाको हेलिकप्टर पोखरा आए पनि प्रक्रिया पूरा नहुँदा रोकिएको थियो । दुर्घटनामा परेको विमानको ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रुपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।