७ बैशाख २०८१, शुक्रबार 1713532113
Banner

शव पहिचानका लागि फरेन्सीक विज्ञ पोखरा जाँदै

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुईजना फरेन्सिक विज्ञलाई पोखरा पठाउने तयारी थालिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार शव पहिचानका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत दुईजना फरेन्सीक एक्सपर्टलाई पोखरा पठाउने तयारी थालिएको हो ।

उनले भने,‘एयर डाइनोस्टिकको हेलिकोप्टरमार्फत् फरेन्सीक विज्ञ पठाउँदैछौं । काठमाडौं ल्याउनुपर्ने डेड बडीहरु फिल्टर गर्छौं । आइडेन्टीफाइ गरेर काठमाडौं पठाउनुपर्ने काठमाडौं पठाउनुहुन्छ । पोखरामै आफन्तलाई बुझाउनुपर्ने पोखरामा बुझ्नुहुनेछ। र त्यसको लागि काठमाडौंबाट फरेन्सीक टोली जान लागेको हो ।’

आजै दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ। विमान दुर्घटनाको कारण पत्ता लगाउन बल्याक बक्सले थप सहयोग गर्छ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरण नहुँदै सेती खोँचमा दुर्घटना भएको थियो।
विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु सवार थिए।

घटनास्थलबाट ६८जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ। उनीहरुको खोजि कार्य जारी छ। फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।