७ बैशाख २०८१, शुक्रबार 1713563050
Banner

झलनाथ, नारायकाजीदेखि बिजुक्छेसँग विप्लवको भेटवार्ता, किन बढाउदैछन सक्रियता ?

काठमाडौं । एमसीसीविरुद्ध विभिन्न ६ वामपार्टी र दुई मोर्चाका साथ संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक सक्रियता बढाएका छन् ।

गत आइतबार प्रतिनिधि सभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन् । जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसीसीलाई संसदले अनुमोदन गरेसँगै विप्लव लगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् ।

एमसीसी राष्ट्रघाती रहेको भन्दै संसदमा टेबल गर्नुअघिबाटै आन्दोनमा उत्रिएको वाम पार्टीहरुको समूहले आन्दोलनलाई प्रभावकारी बनाउन पहल थालेको छ । सत्तारुढ दलहरुबीच लामो रस्साकस्सीका बीच गठबन्धन जोगाउने गरि व्याख्यात्मक घोषणाको साहरा लिइएको भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ ।

माओ‌वादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्षले र एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले बिरोध गरिरहेका छन् । त्यस्तै एमसीसी पारित गर्ने समयमा बेल घेरेर बसेको नेकपा एमालेका नेता भीम रावल पनि एमसीसीको विपक्षमा उभिएका छन । यस्तोमा नेकपाका महासचिव विप्लवले आफ्नो सक्रियता बढाएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमसीसी सम्झौताको संसदमा चर्को बिरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् । विप्लवले एमसीसी बिरोधी नेताहरुलाई आफूहरुको समूहले आयोजना गर्न लागेको एमसीसीविरुद्धको सभामा सहभागी गराउन पहल गरिरहेको जनाइएको छ ।

नेताहरुसँगको भेटमा विप्लवले राजनीतिक सहकार्यको प्रस्ताव गरिरहेका छन् । एमसीसी संसदबाट पारित भएपछि पछिल्लो समय बिप्लबले संघर्षका बिभिन्न कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।