७ बैशाख २०८१, शुक्रबार 1713558470
Banner

दम्पत्तिनै दुर्घटनामा : हेमजा शोकमा

माघ (रासस) ः पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गर्नुभएका राजन । अमेरिकाबाट शनिबार काठमाडौँ झर्नुभएका सापकोटालाई लिन उहाँकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुग्नुभएको थियो ।

माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै हुनुहुन्थ्यो । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा पर्नुभयो । सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बन्नुभएको छ । उहाँका छरछिमेक सबैका आँखा रसाएका छन् । डिभी परेर दुई वर्षअघि मात्र अमेरिका जानुभएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आउनुभएको थियो । गत वर्ष माघको १९ गते विवाह गर्नुभएका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आउनुभएको हो । उहाँका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव(ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आउनुभएको हो । “दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ”, उहाँले भन्नुभयो ।

उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा पर्नुभएको छ । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ जानुभएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाउनुभएको थियो । जहाज दुर्घटनामा हेमाजाकै चार÷चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।