७ बैशाख २०८१, शुक्रबार 1713576341
पालिका

हटाइए सिस्नेका १७२ घरका खरका छाना

रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो ।

कार्यक्रम लागू भएको सुरुको वर्ष अर्थात् आव २०७६/७७ मा सिस्ने गाउँपालिकाका ३० घरपरिवारले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छाना हटाएर टिनको छाना हालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७७/७८ मा ७६ घरपरिवारले टिनको छाना हालेका थिए । चालु आवको अहिलेसम्मको अवधिमा भने ६६ घरपरिवारले टिनको छानो फेरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो ।

चालु आवमा टिनको छाना फेरेका ६६ जनालाई भुक्तानी दिइसकेको गाउँपालिकाले जनाएको छ । खरको छाना हटाइ टिनको छाना हाल्नका लागि सम्झौता गरेकामध्येमा ८७ घरपरिवार अझै बाँकी छन् । उनीहरूमध्ये कतिपयले घर बनाइसकेका छन् भने कतिपयले बनाएका छैनन् । उनीहरूलाई पनि भुक्तानीका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा बजेट माग गरी पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभएको छ ।

उहाँका अनुसार गाउँपालिकाभरबाट टिनको छानाका लागि भनेर ५८३ वटा निवेदन परेका थिए । त्यसमध्येमा छनोटमा ३०९ घर परेका थिए भने सम्झौता २५९ घरपरिवारको भएको थियो । यसमा १ नं वडामा २५ घर, २ नं वडामा ४१ घर, ३ नं वडामा २० घर, ४ नं वडाका ४६ घरले छानो फेर्नका लागि सम्झौता गरेका थिए । यस्तै ५ नं वडाका ३९, ६ नं वडाका ४०, ७ नं वडाका २७ र ८ नं वडाका २१ घरपरिवारले सम्झौता गरेका थिए ।

अन्य वडाका नागरिक टिनको छानो फेरेर भुक्तानीका लागि आए पनि १ नं वडाका नागरिक एक जना पनि नआएको गाउँपालिकाले जनाएको छ । भौगोलिक हिसाबले विकट, सडक नपुगेको ठाउँ सिस्ने–१ वासीलाई आउन जान तथा टिन ढुवानीको रु. ५० हजारभन्दा धेरै खर्च हुने हुँदा मानिस नआएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो । छनोटमा परेका विपन्न परिवारले पहिले आफ्नै लगानीमा टिनको छाना हालेपछि प्राविधिकको अनुगमनपश्चात रु. ५० हजार भुक्तानी दिने गर्दछ ।