१३ बैशाख २०८१, बिहीबार 1714094732
Banner

प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

विराटनगर – प्रदेश १ को उपसभामुखमा सत्ता गठबनधनकी उम्मेदवार सिर्जना दनुवार चयन हुनुभएको छ।

प्रदेशसभाको आज बसेको बैठकमा दनुवारका पक्षमा ५७ मत परेकाले प्रदेशसभाको दोस्रो कार्यालयका लागि उहाँ उपसभामुखमा चयन हुनुभएको हो ।  

सत्ता गठबन्धनले एमालीकी नेता दनुवारलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका तर्फबाट उपसभामुखको उम्मेदवपार लीलाकुमारी राई हुनुहुन्थ्यो। 

राईलाई कांग्रेस र एकीकृत समाजवादीले मत हालेका थिए भने दनुवारलाई सत्ता गठबन्धनका एमाले, माओवादी केन्द्र ,राप्रपा र जसपाका सांसदले मत हालेका थिए।

सभामुख बाबुराम गौतमले दनुवारलाई उपसभामुख चयनका लागि आवश्यक बहुमत मत प्राप्त गरेकाले उहाँलाई उपसभामुख भएको घोषणा गर्नुभएको हो । उपसभामुखको मतदानमा ९० सांसद सहभागी भएका थिए भने सत्तापक्षका दुई सदस्य अनुपस्थित रहेको प्रदेश सभासचिवालयले जनाएको छ। 

गठबन्धनका दलबीच भागबन्डा गर्दा प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ। 

एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ जना प्रदेशसभा सदस्य छन्। उता कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ गरी ३३ सांसद छन्। ९२ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ जना आवश्यक पर्छन्।

सभामुखमा यसअघि माओवादी केन्द्रका बाबुराम गौतम चयन भइसक्नुभएको छ ।