१४ बैशाख २०८१, शुक्रबार 1714154502
Banner

प्रदेश १ मा उपसभामुखको निर्वाचन आज, उदयपुरका दनुवार र राई प्रतिस्पर्धामा

काठमाडौं -प्रदेश १ मा आज उपसभामुखको निर्वाचन हुँदै छ । यसका लागि बिहान ११ बजेपछि प्रदेशसभा बैठक बस्दै छ ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुन्छ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसक्नु भएको छ । एमालेबाट उपसभामुखमा उदयपुरकी समानुपातिक सांसद ४६ वर्षीया सिर्जना दनुवारले उम्मेदवारी दिनुभएको छ । प्रतिपक्षी दल कांग्रेसले पनि उदयपुरकै समानुपातिक सांसद ६२ वर्षीया लिलाकुमारी राईलाई उम्मेदवार बनाएको छ ।
एमालेकी दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईं छन् भने राईको प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पौडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की विद्या चाम्लिङ राई समर्थक छन् ।

संविधानको धारा १८२ को उपधारा ९१० मा प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा ९२० मा उपधारा ९१० बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने छ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।