१३ बैशाख २०८१, बिहीबार 1714077745
समाचार

नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

झापा- लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरी नै पुग्नुपरेको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उहाँकी श्रीमती रोशा कट्वाललाई आइतबार राति साढे दश बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो ।

नवजात शिशुको अवस्था हिजो बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृत्यु भएको पीडित खड्काको आरोप छ । सुत्केरी आमाको अवस्था जटिल भई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ ।

प्रनाउ गिरीको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच दिउँसो छलफल भई सहमति भएको बताइएको छ ।